blog post

नेपालगञ्जमा रुख काटेपछि अभियन्ता आक्रोसित

 मंसिर २७, २०८०, बुधबार

नेपालगन्ज २७ मङ्सिर । नेपाल विद्युत प्राधिकरणले हुर्केका बयश्क रुख जथाभावी काटेपछि नागरिक स्तरबाट त्यसको आलोचना भएको छ । तार व्यवस्थापनका नाममा नेपालगञ्जस्थित विद्युत कार्यालयले बाँके जिल्ला अदालत अगाडीका १६ वटा रुख काटेपछि सर्वत्र विरोध भईरहेको हो ।

नगरलाई सुन्दर, व्यवस्थित र हरियाली बनाउन रोपिएर हुर्काइका बयश्क रुख कुनै समन्वय नै नगरी काटिएपछि यहाँका नागरिक समाज लगायतको समुहले दोषीलाई कारवाहीको समेत माग गरेको छ । 

जथाभावी रुख काटिएपछि नागरिक समाजका अगुवाले आज राष्ट्रिय मानव अधिकार आयोगमा अध्ययन तथा आवश्यक छानविन र कारवाहीका लागि उजुरी दर्ता गरिएको छ । सूचना र मानव अधिकार अनुसन्धान केन्द्र र क्लिन नेपालगन्ज ग्रिन नेपालगन्जको पहलमा राष्ट्रिय मानव अधिकार आयोग नेपालगन्ज कार्यालयमा उजुरी दर्ता गरिएको हो । 

कार्यालयका निमित्त प्रमुख सुलोचन चौधरीलाई उक्त उजुरी बुझाइएको छ । सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष विश्वजित तिवारी, क्लिन नेपालगन्ज ग्रिन नेपालगन्जका अध्यक्ष डा विनोद कर्ण, अभियन्ताहरु रविन्द्रकुमार ज्ञवाली, राकेश मिश्र, अरुण तिवारी, अनुप मिश्र लगायतको समुहले उजुरी दर्ता गराएको हो ।  

सार्वजनिक सम्पत्तिको संरक्षणको साटो एउटा सरकारी कार्यालयले नै तार व्यवस्थापनका नाममा एक्कासी रुख काट्ने कुराको सर्बत्र निन्दा गरिएको छ । नेपालगञ्जमा हरियाली प्रबद्र्धन गर्दै सुन्दर सहर बनाउने अभियानलाई झट्का दिने गरी यस्तो काम भएको भन्दै अभियन्ताहरु आक्रोशित भएका छन् । 

शहरलाई सुन्दर र हरियाली बनाउन मैले विगतका वर्षदेखि अभियान नै चलाएको बेला एउटा सरकारी कार्यालयले धमाधम रुख काटेपछि विधीको शासनको खिल्ली उढाएको अभियन्ता विनोद कर्ण बताउनुहुन्छ । उहाँले भन्नुभयो, “नेपालगन्ज हरियाली शहरका लागि अभियान चलाईरहेको छु, तर मेरो अभियानको समेत अपमान गरिएको छ, रुख काट्नेलाई कारवाही हनुपर्दछ ।” यो कार्यले हाम्रो अभियानलाई कमजोर बनाएको छ उहाँको भनाई थियो ।  

अभियन्ताहरुले बाताबरणको संरक्षण तथा सम्बद्र्धनका लागि सरोकारवाला निकायको ध्यान समेत आकर्षण गरेका छन ।