blog post

सामाजिक परिक्षण प्रतिबेदन सार्वजनिक

 असोज ०३, २०७८, आइतबार

नेपालगन्ज, ३ असोज । सूचना र मानव अधिकार अनुसन्धान केन्द्रको सामाजिक परिक्षण प्रतिबेदन सार्वजनिक गरिएको छ । आज आइतबार गरिएको कार्यक्रममा संस्थाले आर्थिक वर्ष ०७७।०७८ मा संचालन गरेको क्रियाकलाप पश्चात समाजमा आएको परिवर्तन, तथा संस्थाका लक्षित वर्गमा पारेको प्रभाव र संस्थाको समग्र अवस्था तथा व्यवस्थापनका बारेमा तयार गरिएको प्रतिबेदन सार्वजनिक गरिएको हो  । 


सामाजिक परिक्षक धु्रबराज शर्माले प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत प्रतिबेदनपछि सहभागि सरोकारवालाहरुले संस्थाले संचालन गरेका कार्यप्रगति, अभियानका बारेमा आ आफनो कुरा राखेका थिए । संस्थाले गरेको पैरवी र खबरदारीपछि स्थानीय तहमा सुधार, सामाजिक परिवर्तन र संस्थागत व्यवस्थापनमा सुधार आएको प्रतिबेदनमार्फत जानकारी गराइएको थियो ।  


संस्थाले सूचनाको हक, कानून, सुशासन र मानव अधिकारका क्षेत्रमा काम गर्दै आएको छ । अभियानमुखी संस्थाको रुपमा परिचित संस्थाले सार्वजनिक सरोकारका सवालमा सक्रिय रुपमा खबरदारी गर्दै आएको छ । संस्थाले आफनो आन्तरिक सुशासनसंगै संस्थागत विकासमा राम्रो व्यवस्थापन गरेको छ । कार्यक्रममा प्रस्तुत प्रतिबेदनमाथी सहभागिहरुले आ–आफ्नो विचार व्यक्त गरेका थिए । 


कार्यक्रममा गैरसरकारी संस्था महासंघ बाँकेका अध्यक्ष नमस्कार शाहले सुशासनका क्षेत्रमा काम गर्ने नमुना संस्थाको रुपमा पहिचान कमाएको भन्दै गैरसरकारी संस्थाले गर्नुपर्ने सुशसानका मापदण्ड पुरा गरि व्यवस्थित रुपमा बन्नुपर्ने बताउनुभयो । कार्यक्रममा अधिकारकर्मी बसन्त गौतम, रविन्द्र कर्ण, बलबहादुर चन्द लगायतले बोलनुभएको थियो ।

कार्यक्रममा कार्यकारी निर्देशक राकेशकुमार मिश्रले संस्थाको बारेमा जानकारी गराउदै स्वागत गर्नुभएको थियो । संस्थाका अध्यक्ष विश्वजित तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन कार्यक्रम संयोजक टेकनाथ आचार्यले गर्नुभएको थियो । संस्थालाई आगामी दिनमा थप सेवा बृद्धि तथा सुधारका लागि लक्षितवर्ग तथा अन्य सरोकारवाला निकायसंग भेटेर सामाजिक परिक्षण निर्देशिका २०६७ अनुसार प्रतिबेदन तयार गरिएको हो ।