blog post

शान्ति र सदभावका लागि नागरिक अपिल

 असोज १८, २०८०, बिहीबार

नेपालगन्ज १८ असोज । नेपालगन्ज घटनामा सामाजिक सदभाव कायम गर्नका लागि बाँकेका नागरिक समाजले शान्ति र सदभावका लागि अपिल गरेका छन । नेपालगन्ज बहुधार्मिक, बहुजातिय, बहुसांस्कृतिक विविधता भएको शहरको रुपमा परिचित छ ।

यहाँ बसोबास गर्ने हिन्दु, मुस्लिम, सिख्ख र इसाई धर्महरु एक आपसमा मिलेर बसेका छन । एक अर्काको चाडपर्वमा आपसी मेलमिलाप, भाइचारको सन्देश प्रवाह भई सबै मिलेर बसेको शहर हो । 

सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष विश्वजित तिवारीको संयोजकत्वमा बसेको एक बैठकले नेपालगन्जमा शान्ति र सदभावको बाताबरण सिर्जनाका लागि सबैमा अपिल गरेको हो । 

नेपालगन्जमा वर्तमान अवस्थामा सिर्जना भएको परिस्थितिले यहाँको धार्मिक, साँस्कृतिक सहिष्णुता तथा सबै भाषाभाषीहरुको विचमा रहेको बन्धुत्व तथा भाइचारामा समेत नराम्रो असर पुगेकोले सबै जातजाती, धर्म सम्प्रदायमा आपसी एकता कायम गर्न र अन्तर घुलनको सिद्धान्तलाई आत्मसाथ गरि सामाजिक सदभाव कायम गर्न अपिल गरिएको हो । 

यसैगरी सामाजिक सद्भाव कायम गराउन, धार्मिक सहिष्णुता खल्बलिन नदिन, शान्ति सुरक्षा स्थापित गर्न स्थानीय प्रशासन समक्ष जोडदार माग गरिएको छ ।

नेपालगन्जका नागरिक समाजका जयसिंह केसी, बेचनलाल गुप्ता, रविन्द्र ज्ञवाली, अनुप मिश्र, राकेश मिश्र, भरतकिशोर बैश्य, भिष्म लोध, श्री राधाकृष्ण हनुमान मन्दिरका महन्त रामसुमिरन दास, नेपाल सांस्कृतिक महासंघका केन्द्रीय सहमहामन्त्री जहिरुलहक जिनु लगायतले हस्ताक्षर गर्नुभएको थियो । 

यसैगरि आजै बाँके जिल्लास्थित विभिन्न नागरिक समाजका अगुवाहरुले पनि संयुक्त रुपमा सामाजिक सदभावका लागि हार्दिक अपिल गरेका छन ।