blog post

मानव अधिकारको प्रत्याभुति गर्न जोड

 मंसिर २४, २०८०, आइतबार

नेपालगन्ज २४, मङ्सिर । आज १० डिसेम्बर ७५औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विभिन्न कार्यक्रम गरि मनाइएको छ । दिवसको अवसरमा कानुनी राज्यको भरपर्दो व्यवस्थासँगै मानव अधिकारको प्रत्याभूतिबाट कुनै पनि नागरिक बञ्चित हुनु नपर्ने कुरामा जोड दिइएको छ ।

दिवसको अवसरमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले आज आइतबार साँझ जिल्ला प्रशासन कार्यालयको मुल गेटमा आयोजना गरेको दिप प्रज्वलन कार्यक्रमका सहभागीले व्यक्तिगत स्वतन्त्रता र लोकतान्त्रिक शासन प्रणालीलाई सारभूत बनाउने मानव अधिकारको महत्वपूर्ण पक्ष आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार भएको बताएका थिए ।

नेपालको संविधानले मौलिक हकमा गरेको व्यवस्था अनुसार त्यसको पुर्ण कार्यान्वयनका लागि सरोकारवाला निकायलाई जोड दिइएको थियो । 
कार्यक्रममा अधिकारकर्मी कृष्णमुरारी प्रसाद भट्टले सबैको हक अधिकार, स्वतन्त्रता र न्यायको अनुभूति हुन सकेमा मात्र मानव अधिकार दिवसले सार्थकता पाउने बताउनुभयो । 

सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष अधिबक्ता विश्वजित तिवारीले नेपालले संविधानमा व्यवस्था भएको नागरिकको मौलिक हकको पूर्ण कार्यान्वयनका लागि अग्रसरता लिनुपर्नेमा जोड दिदै सबै पक्ष र निकायलाई मानव अधिकारको मर्म र भावनाको कदर गर्न आवहान गर्नुभयो । 

कार्यक्रममा अधिकारकर्मी, सामाजिक अभियन्ता, युवा, विद्यार्थीलगायतको सहभागिता रहेको थियो । संयुक्त राष्ट्रसङ्घको महासभाबाट मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिनको स्मृतिमा प्रत्येक वर्ष डिसेम्बर १० मा विश्वभर यस दिवस मनाउने गरिन्छ । 

यस वर्ष ‘भविष्यमा मानवअधिकार संस्कृतिलाई एकीकृत र दिगो बनाउँदै लैजाऔँ’ भन्ने मूल नारासहित नेपालमा पनि विविध कार्यक्रमका साथ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइएको हो ।